सिराहामा पसले र बन्दकर्ताबीच झडप हुँदा ४ जना घाइते

रामनारायण पंडित

सिराहा,२४ चैत-

सिरहाको लहानमा बन्दकर्ता र पसलेबीच झडप भएको छ । झडपमा दुई पसले र दुई बन्दकर्ता गरी चार व्यक्ति घाइते भएका छन् । बन्दकर्ताद्वय लहान नपा–१० का नथुनी पासवान र लहान नपा–५ का ओमप्रकाश साह घाइते भएका छन् । यस्तै पसले लहान नपा–७ का विजय दास र उनको आफ्नै दाइ रामलोटन दास घाइते भएको थाहा भएको छ । घाइते सबैको टाउको फुटेको छ । उनीहरुको उपचार लहान अस्पतालमा भइरहेको छ ।घाइते बन्दकर्ता एकीकृत माओवादीका कार्यकर्ता हुन् । बन्द गर्न भन्दा आफूहरुमाथि क्रिकेट खेल्ने ब्याट लिएर आक्रमण गरिएको घाइते नथुनी पासवानले बताए । तर घाइते पसले विजय दासले पसल बन्द राखेपनि बन्दकर्ताले तोडफोड गरेपछि प्रतिकार गरेको दाबी गरेका छन् ।भाडा वर्तन पसल बन्द गराउन खोज्दा भएको झडपमा दुई पसले र दुई बन्दकर्ता घाइते भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।झडपपछि बन्दकर्ताको स३प ६५३५ नम्बरको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको पनि उनले बताए ।तीस दलीय मोर्चाले आह्वान गरेको आमहडतालका कारण सिरहाको जनजीवन पनि प्रभावित बनेको छ । बजार क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएपनि बजार,कलकारखाना,उद्योग,यातायात पूर्णरुपमा बन्द भएको छ ।राजमार्गमा मोटरसाइकलबाहेकका अन्य सवारी साधन चल्न सकेका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *