केहिले रोकेको विकास

रंजन भण्डारी
ranjan-bhandariमहोत्तरी ।
विकास सवैलाई चाहिन्छ र विकास भएमा त्यसको लाभ राजनितिकर्मी,पत्रकार,नागरिक समाज,बुद्धिजिवी,सरकारी कर्मचारी,रिक्सा चालक देखि लिएर दैनिक अर्काको घरमा भाडा मस्काउने सम्मले लिने दुईमत छैन । तर विकास कति भयो र त्यसको लाभ यी मध्ये कति सेवाग्राहीले लिए त ?निश्चय पनि यो गम्भिर प्रश्न छ र यस्को जवाफ खोजिनु हामी सवैको दायित्व पनि हो । वार्षिक सडक,नाला,स्वास्थ्य,शिक्षा,सरसफाई र फोहोर व्यवस्थापन आदी शिर्षकहरुमा करोडौ बजेट आउछ र ति रकम मध्ये अधिकांश सम्बन्धित कार्यालयहरुको एकाउन्ट शाखामा खर्च समेत भएको देखिन्छ तर त्यसले विकास भएको देखिएको छैन । ग्रामिण तथा सहरी सडकहरु निर्माण र केहि सुधार गर्ने काम दुई महिना पहिल्यै सम्पन्न भयो तर ति सडकहरुको वर्तमान अवस्था हेर्दा लाग्दैन ति सडकहरुको निर्माण वा सुधार वर्षौ देखि भएको छ भनेर । कागजमा सवै ठिक देखिएकै छ तर वास्तविकता भने सो नभएकोले हामी कहि न कहि चुकेकै छौ भन्ने सत्य हामीले स्विकार्नै पर्छ ।
जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत आए पश्चात नगर बस सुरु गरे । काम सराहनिय छ र त्यो आवश्यक पनि थियो तर ति बसहरु निर्धारन गरिएको सवै सडकमा अहिले गुड्न सकेका छैनन । जसको अरु जे जति कारण भएपनि मुख्य कारण सडक रहेको छ । ति सडकहरुको सुधारको जिम्मा पाएका सडक विभाग,जिल्ला विकास समिति र नगरपालिकाले सडक समस्याको ठोस निकास दिन सकेका छैनन । हाकिम भन्छन जलेश्वरको विकासको लागि करोडौ र अर्बौ ल्याउछौ र सदरमुकामलाई धार्मिक पर्यटकिय स्थलको रुपमा स्थापित गर्छौैै तर ति सपना भने सपना मै सिमित रहने हो कि भन्ने चिन्ताले स्थानियलाई सताएको छ । हामीले विकासको अवरोध वा बाधा कहा छ भन्ने पत्ता लगाउन सक्यौ भने पक्कै पनि विकास हुन्छ तर ति समस्याका कारणहरु नभेटिएसम्म केहि गर्न सकिन्न ।
जलेश्वर वडा नं. ६ का प्रविण कुमार साह भन्छन सदरमुकाम वा जिल्लाकै विकास अवरुद्ध हुनुमा यहाका राजनितिक दल मुख्य दोषी छन भने ति दलहरुको दवाव वा प्रलोभनमा परेर केहि पत्रकारहरु समेत सत्य तथ्य वाहिर ल्याउन सकेका छैनन जसले गर्दा जे जस्तो गरेपनि अन्तमा सवै कुरा मिल्ने गरेको छ । उहा भन्छन यी दुई विकास नहुनुका मुख्यपात्र हुन भने हाम्रै आँखाको सामुने गलत काम हुदै गर्दा चुप लागेर आफ्नो व्यक्तिगत कामसंग मात्र सरोकार राख्ने र समाजमा जे केहि भएनि आफुलाई मतलव जस्तो नगर्ने हामी जनता पनि दोषी छौ । हामीले आफ्नो गल्ती सुधार गरि हाम्रै विकासको लागि आउने गरेको काममा चासो राखि त्यो कामको सम्पुर्ण निगरानी गरे विकास अवस्य हुन्छ साहको भनाई छ । हामी बाटोमा हिडदा सडकमा खाल्डो पनि देख्छौ र सरकारी निकाय,कर्मचारी,ठेकेदार र पत्रकारलाई समेत त्यती बेलै वेस्सरी गाली गछौ र त्यहाबाट हिडछौ तर त्यो ठाउमा खाल्डो किन छ,त्यहा सडक मर्मत कहिले र कसरी भएको हो ,त्यसमा के कति रकम खर्च भयो र काम कस्तो गरिएको थियो वा त्यसका लागि हामीले सार्वजनिक रुपमै आवाज उठाएर खाल्डो हुनुको कारण वा त्यो खाल्डो नपुरिनुको कारण वारे पत्ता लगाई त्यसको निकास तिर जादैनौ ।
विकास निर्माणका योजना परियोजनाहरु कहाबाट सुरु हुन्छ त हामी थोरै त्यता तिर केन्द्रित हुनु आवश्यक छ । वडा स्तरमा प्रत्येक वडाका उपभोक्ता यानी सेवाग्राही,नागरिक समाजका प्रतिनिधी सरकारी कार्यालयका जस्तै न.पा. वा गा.वि.स. प्रतिनिधी का साथै सो वडाका राजनितिक दलका प्रतिनिधीबाट योजनाको कार्यक्रमको कुराकानी सुरु हुन्छ र केहि सम्भावित योजनाहरु त्यहाबाट न.पा.,गाविस वा जिल्ला विकास र गाउ विकासमा पुग्छ । सम्बन्धित ठाउमा पुगेपछि पुन ः राजनितिक दल तथा विभिन्न सरोकारवालाहरुले ति कार्यक्रमबाट केहि काटछाट गरि वा आफ्नो शक्ति लगाएर आफ्नो मान्छेलाई सो योजना वा परियोजना परोस र आफुले केहि कमाउन पाउ भन्ने उदेश्यका साथ जसो तसो माथिल्लो निकायमा पठाउदा त्यस मध्ये केहि पारित भई कामको थाल्नी हुन्छ । यहा सम्बन्धित ठेकेदारले सरोकारवालाहरुलाई केहि प्रतिशत रकम भने कार्यक्रम पारिदिए वापत दिन्छन र कामको विजारोपन गर्छन । काम सकिन्छ र केहि राजनितिकर्मी समेत त्यहा आफ्नो हिस्सा लिन्छन । त्यस ठाउमा केहि पत्रकार भने आफै भज्न जान्छन भने केहि राजनितिक दलबाट भजाईन्छन । अव केहि सरोकारवाला निकायले पैसा पाईसके, केहि राजनितिक दलले पैसा पाए र केहि पत्रकारले समेत पैसा पाए अब आफै सोच्न सक्नु हन्छ विकास कहा अडकेको छ भनेर ।
हामीलाई थाहा छ यस्तो भयो र हुदैछ तर हामीसंग त्यसको आधिकारिक प्रमाण हुदैन त्यसैले यहा केहि भन्ने शब्द मात्र राख्न सकिएको हो । त्यो केहि ले नै वास्तवमा विकास रोकेकै हो भन्ने हामी सवै बुझ्दैछौ तर हामी आम जनसमुदाय चुप लागेर वसेका छौ । किन त भन्दा खेरी हामी आम जनसमुदाय वा सेवाग्राहीमा एकजुटता छैन । हामी वास्तविकमा भन्ने हो भने कमजोर र निरिह छौ । ति केहि सरोकारवाला निकाय,त्यसका केहि कर्मचारी,केहि राजनितिकर्मी र केहि पत्रकारको शक्तिको सामुने हामी विवश छौ । यहा हामी मध्ये केहिले बोल्न खोज्यौ भने पनि यी केहिले हाम्रो आवाज दबाउन वा हामीलाई सखाप नै पार्न पछि पर्दैनन ।
त्यै केहिले अधिकांश सरोकारवाला निकायका स्वच्छ छवीका कर्मचारी वा हाकिम,अधिकांश स्वच्छ छवीका राजनितीकर्मी र अधिकांश स्वच्छ छवीका पत्रकारलाई समेत बदनाम गर्दै उनीहरुको आवाज दबाउने काम समेत गरेका छन । हामी कहा केहि राजनितिकर्मीको जागिर छैन तर पनि उनीहरुले त्यही राजनिति गरेर पैसा कमाएकै छन । उनीहरुले कमाएको पैसाको आधिकारिक कुनै स्रोत छैन केहि मुद्दा मिलाएर,केहि योजना मिलाएर अनि केहि निकायहरुमा हजुर हजुर भनेर वा धाक नै देखाएर पैसा कमाउने गरेका केहि मात्रामा हामीले देख्ने गरेका छौ । त्यसतै यहा केहि पत्रकारहरु समेत यस्तै प्रवृतीका नदेखिएका होईनन । हो यहा पनि मैले केहि शब्द नै भन्नु पर्छ किन कि मैले यहि केहि भन्ने शब्दले देश र समाजको विकासमा ठुलै अवरोध पारेको देखिरहेको छु । यो केहि यहा भए जस्तै अरु ठाउ र जिल्ला मा पनि छन र देश नै सन्चालन हुने ठाउमा पनि छन ।
अब पनि आम जनसमुदायले यो केहिलाई केहि गर्न नसके वा रोक्न नसके वास्तविकतामा त विकास परै जाओज राती सपना मै देखेर चित बुझाउनु पर्ने हुन्छ । हामीलाई वास्तवमै विकास चाहियो भने यी केहिको विरुद्ध अधिकांश उठनु पर्छ र लडनु पर्छ । हरेक योजना र काममा हामीले त्यसको लागत खोज्नु पर्छ । मेरो घरको सामुने सडक निर्माण हुदै छ भने त्यो सडक कतिमा लिईएको हो त्यसको मापदण्ड के हो र ठेकेदारले त्यसमा कति रकम खर्च गर्यो साथै अधिकांश काममा जनश्रमदान हुने दस्तुर रहेकोले हामी समेतले त्यसमा जनश्रमदान गर्यौ वा गरेनौ साथै यदि गरेनौ भने त्यो सडकको रकम कसरी निकासा भयो भन्ने कुरा हामीले खोज्नै पर्छ । त्यसतै हाम्रो वालवालिका पढाउने विद्यालय अनुमति प्राप्त छ कि छैन,सरकारले हाम्रा वाल वालिकाका लागि त्यस विद्यालयमा कुन कुन सुविधा हरु दिएका छन, हाम्रो वाल वालिकालाई त्यहा वास्तवमै पढाईन्छ वा शिक्षकहरु राजनिति गर्नमा व्यस्त छन त्यो समेत हामीले नै खोज्नु पर्छ । साथै हामीलाई सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवा मध्ये हामीले कति पाउदैछौ र सरकारले नै हाम्रो रोजगारीको लागि समेत के कस्तो व्यवस्था गर्न सकेको छ लगायतका यावत कुराहरु हामीले खोज्नै पर्छ । विकासको एउटै विकल्प छ त्यो हो जनतामा चेतना आउनु यो आउन सकेको खण्डमा हाम्रो समाज र देश कसो स्वर्ग नबनला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *