हाकिम साव ! हाम्रो पनि गुनासो सुनिदिनुस

ranjan bhandari

रंजन भण्डारी
विकास सवैलाई चाहिन्छ । नेता,पत्रकार,कर्मचारी,शासक,प्रसासक,बुद्धिजीवी,नागरिक समाज,संघ संस्था हामी जो भएपनि यहि समाजमा वस्छौ र आफ्नो घर,टोल,छिमेक र समाजमा हुने हरेक विकास निर्माणका कार्यसंग हाम्रो प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार रहेकै हुन्छ । यसै सन्दर्भमा आफ्नै गाउ र टोल वारे केहि भन्न जमर्को गरेको छु । यसमा मेरो निजी स्वार्थ भए वा नभएपनि यसवाट समाजले केहि पाउन सक्छ वा सक्दैन भन्ने तपाईहरु आफै निर्धारण गर्नु होला । 20160820_120536a
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वार्ड नं. ५ खाद्यय संस्थान देखि पासमान टोल हुदै मालपोत जानेबाटोमा वाया पटटी करिव ६ फिटको सांघुरो गल्ली छ सोहि गल्ली भित्रको एउटा घर मेरो पनि छ । पेशाले पत्रकार छुु तर दुर्भाग्य नै भनौ आफनो घर पुग्ने गल्ली किन ६ फिट मात्र छ भन्ने वारेमा आजसम्म मिडियाको माध्यमले आवाज उठाउन सकेको छैन । आफ्नो पत्रकारिता जिवनमा समाजको विकास र समाजका विकृतीहरुका वारेमा अनेकौ समाचार लेखेकै छु तर आफै सांघुरो गल्लीमा वस्नु परेको पिडा लेख्न सकेको थिएन । सायद त्यही भएर होला पनि अचेल पत्रकारहरु माथी धेरैको विश्वास गुम्न थालेको जस्तो छ । आफ्नै हक र अधिकारको संरक्षण गर्न नसक्ने पत्रकारले के समाजको विकासको लागि आवाज उठाउन सक्छ भन्नेहरु पनि प्रसस्तै छन र सम्भवत उनीहरु आफ्नो ठाउमा सहि पनि छन ।
हालै संसदीय कोषबाट क्षेत्र नं. ३ का सभासद राम दयाल मण्डलले क्षेत्र नं. ३ का विभिन्न गाउ र टोलमा पानीेको धारा वितरण गराएका छन । सौभाग्यले धारा मेरो घरमा समेत जडान भयो । मेरो घरको सामुनेसम्म त नाला आएकोले फोहोर पानी निकाल्ने समस्या रहेन तर सोहि ठाउमा अन्यहरुको घर सम्म नाला नभएको,साविकमा पिसिसि सडक बनाउने वेला सडक फराकिलो गरि नाला सहितको पिसिसि सडक निर्माण नगरेको नगरपालिकाकै कारण केहिको निजि स्वार्थ पुरा भई समाजका अन्यलाई अझै सास्ती भोग्नु परेको स्थिति छ । यता हाम्रो सभासदले धारा लगाउन भ्याएपनि धारा लगाउन खनिएको सडकहरुलाई पुनः मर्मत गर्ने,सो धारा प्रयोग पछि निस्कने फोहोर पानीका निकासका लागि समेत व्यवस्था गर्न नसक्दा मेरो घर देखि ब्रम्हस्थान जाने बाटोमा सडकमै फोहोर पानी बग्ने गरेको छ । साथै अरुको निजी जग्गामा फोहोर पानी पस्नुका साथै सडकमै जमेको फोहोर पानीले लामखुटटेलाई आफ्ेनो परिवार हुर्काउन र रोग फैलाउन मोज नै छ ।20160820_120632
अहिले सांघुरो गल्ली र सडकमा जमेको फोहोर पानी कै कारण पैदल,साइकल र मोटरसाईकल सवारहरु सयौ पटक दुर्घटनाबाट वच्ने गरेका छन तर भनिन्छ दुर्घटनाको लागि एक पटकको खराव भाग्य नै काफी छ । साविकका नालाहरुको कुरा गर्नु पर्दा नालाहरु सफा हुन सकेका छैनन जताततै नालाहरु जाम भई फोहोर पानी सडकमै जम्ने गरेको छ । घरहरुबाट निस्कने फोहोर उठाउन कहिले महिना त कहिले दुई महिनामा नगरपालिकाको ट्याक्टर आउछ र सो वापत समेत चियाको लागि केहि दिनुस भनि पैसा उठाउछन ।
नगरपालिकाले नगरे को हैन प्रत्येक वडामा टोल सुधार समिति बनाएकै छन तर ति समिति मध्ये अधिकांश खाने र लुटनेको मात्र भयो । यहि गति हाम्रो वडाको समितिमा समेत देखियो । पैसा बचाएर आफ्नो भुडि भर्न नै सडक छेउ कै माटो खनी सडकमा हाले र ठुलै खाल्डो बनाए । अर्थात समाजमा विकास गर्न बनाएको समितिले विनास नै गर्यो । त्यै खाल्डोमा परेर कुनै दिन ठुलै दुर्घटना नहोला भन्न सकिन्न । अर्को कुरा नगरपालिकाले बनाएको टोल सुधार समितिमा त्यो समितिको काम कर्तव्य वारे उनीहरुलाई जानकारी नगराएर हो कि सवै काम कर्तव्य थाहा हुदा हुदै पैसा खान पाईने काम मात्र गर्ने सोच राख्ने समितिले न त टोल भित्रका फोहोर देख्न सकेका छन न त जाम परेको नाला नै । साथै अतिक्रमित सडक पनि उनीहरुको आखामा सम्भवत नपरेको अवस्था छ । नगर प्रमुखसंग म वडा नं. ५ को स्थानिय वासिन्दाको सानो आग्रह हालै टोल सुधार समितिले बनाएको सडकहरु श्रमदान विना नै पास गरि उनीहरुको पैसा निकासा गर्नु भयो सुिनयो नगरपालिकाकै केहि कर्मचारीहरुले केहि प्रतिशत कमिशन पनि लिएको कुराहरु समेत सुनियो यसलाई कुन रुपमा लिनु हुन्छ र प्रस्तुत गरिएका समस्याहरु कसरी समाधान गर्नु हुन्छ जिम्मेवारी तपाईको पनि छ कि ? त्यसतै तपाईले गराउनु भएको सामाजिक परिक्षण कार्यक्रममा विभिन्न वडाहरुको विजुली वत्ती दुरुस्त राख्न लाखौ खर्च भएको जानकारी गराउनु भएको छ तर मेरो वडाका सडकहरु अधिकांश अन्धकारमय नै छ । हाम्रै वडा का अधिकांश आमा,छोरी,बुहारीहरु अझै शौचालय अभावमा सडकमै दिशा गर्न वाध्य छन । पैसा भएर शौचालय नबनाई सडकमा जानेहरुलाई लाज लाग्नु पर्ने हो तर नहुनेको लागि केहि सार्वजनिक शौचालय बनाउन सकिन्छ भने त्यता तिर समेत तपाईको ध्यान जाओस भन्ने अपेक्षा समेत गरेका छौ । 20160820_120604
अतिक्रमण गरि बनाएको घरहरुले सांघुरो भएको बाटोले आगलागीको वेला न त वारुण यन्त्र टोल भित्र आउन सक्ने परिस्थिति छ न त विरामी परेको वेला एम्बुलेन्सको लागि बाटो छ । हाम्रा आदरनिय नगरपालिकाका पुर्व हाकिम सावहरु र पुर्व तथा केहि वर्तमान कर्मचारीहरुको केहि व्यक्तिहरुसंगको साठगाठ र लेनदेनको परिणाम आज हामी भोग्न बाध्य छौ । हाकिम साव विन्ती छ अरु नर्कको जिवन जिउन हामीलाई विवश नपार्नुस । सक्नु हुुन्छ भने मेरो वडालाई सुधारेर देखाउनुस नभए टोल सुधार समितिको नौटंकी बन्द गर्नुस । 20160820_121121
समाजमा रहेका विकृती विसंगति,वाधा अवरोध हरु फुकाई सुधार तर्फ अग्रसर गर्ने मुख्य जिम्मेवारी नगरपालिकाको नै रहेकोले समस्या समाधानको लागि नगरपालिकाका सवै दोषी कर्मचारी र प्रमुखलाई कार्यवाहीको दायरामा ल्याउने जिम्मेवारी समेत हाकिम साव कै कांधमा रहेकोले तपाईले तुरुन्त कार्यवाही प्रकृया अगाडी वढाउनु हुने छ भनी अपेक्षा लिएको छु । साथै अनधिकृत रुपमा बनाईएको घरहरुको दस्तावेज चेकजाच गरि अतिक्रमित जग्गा फुकाउनु पर्ने जिम्मेवारी निर्वाह गरि समस्या समाधान तर्फ अगाडी बढनुस । अव्यवस्थित नालाहरु तुरुन्त सरसफाई गराई नालाको निकासको व्यवस्था गर्नुस । विभिन्न समयमा सडक बत्तीको लागि खर्च गरिएको रकम वास्तवमै सडक वत्ती मै खर्च भएको हो कि कसैको गोजीमा गएको हो सो को छानबिन प्रकृया अगाडी बढाउनुस । टोल सुधार समिति र तपाई कै नगरपालिकाका कर्मचारीहरु विच भएको लेनदेनको वारेमा समेत छानबिन गरि दोषी ठहरे कार्यवाही गरि समाज र नगरपालिकालाई स्वच्छ बनाउनुस । अनि मात्र तपाईको कार्यकाल सफल भएको सिद्ध हुन्छ अन्यथा सम्मान कार्यक्रमहरुमा गएर सम्मान ग्रहण गर्न बन्द गर्नुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *