मधेश आन्दोलन र मेरो दृष्टिमा युवाशक्ति

anil_kumar_karna

“सद्भावना पार्टीको पेचकिला कस्ने सीप र निवृत्तिभरणका लागि पट्टा बनाउन सरकारी अड्डामा जानैपर्ने अन्य मधेशवादी दलहरुको बृद्धज्ञान भने मधेश आन्दोलनको इतिहासमा सधैँ परीक्षणयोग्य रहनेछ ।”

anil_kumar_karnaअनिलकुमार कर्ण 

अन्नद्रव्यको जोहो गर्न अहोरात्र अफिसमा धपेडी गर्नैपर्ने हुँदा आलसतालस पनि थियो र अल्छयाइँसँग त मेरो साबिकदेखिकै गहिरो दोस्ती छ । तर ठूला दलहरुबीचको १६ बुँदे संविधान लेखिने आधारशिला हुने सोह्ैआना तय भइसकेपछि फूर्तिलो बन्ने यत्न गरेँ । मधेश आन्दोलनयताका पूर्वापर सन्दर्भहरुलाई जोडघटाउ गर्दा फेरि पनि मधेश ठगिने प्रायः निश्चित छ भन्ने अनुमान गरिसकेको थिएँ । तर पर्खाइँ थियो, छलकपट र बेइमानीले आउने संविधानको मस्यौदाको ।

ध्यानदृष्टि ओझेलमा नपर्दै त्यो दिन पनि आयो । र, संविधानको मस्यौदाको एकथान प्रतिलिपि लिएर मित्र मोहन(मोहन सिँह, मधेशी पत्रकार समाजका अध्यक्ष) जी मकहाँ आउनुभयो ।  उहाँकै सल्लाह र संलग्नतामा हामीले मस्यौदाका बुँदाहरुलाई केलायौं र अन्ततः संविधानको मस्यौदामा रहेका धाराहरुलाई संशोधन गर्नु वा अलग्गयाउनुभन्दा पुनर्लेखन नै गर्नुपर्ने निष्कर्षमा पुग्यौं । त्यस निष्कर्षलाई काठमाडौंको एउटा कार्यक्रममा पस्कियौं र मस्यौदामा भएका अपशकुन वाक्य, परिच्छेद र पृष्ठहरुले गर्दा पुनर्लेखनकै पक्षमा मतैक्य बन्योे पनि । मस्यौदा मधेशका लागि झमेलाको आहट थियो भने वर्चस्ववादीहरुका लागि अलङ्घनीय वेद ।

संविधानसभाजस्तो जनताका मन्दिरलाई कज्याएर दुईचारजनाको समवेत स्वरबाट प्रस्तुत मस्यौदालाई रोक्न उत्पीडितहरुलाई अलनाबिलनासम्म गर्न नदिने तयारी पनि थियो । जसको आरम्भिक छनक १६ बुँदेको पासोले दिइसकेको थियो ।

धमिला, शङकास्पद, द्विअर्थी र दुरुह तथा विरोधाभाषी वाक्यहरुको विन्यासले बनाइएको मस्यौदा पहिचानवादीहरुले स्वीकार गर्ने सम्भावना थिएन । तर उनीहरुका स्वाभाविक अस्वीकृतिका बीच राजनीतिक अन्तविर्रोधको गणितीय व्यवस्थापनले फड्को मार्ने अनुमान वर्चस्वादी रणनीतिकारहरुको थियो । संविधान घोषणा हुँदासम्म उनीहरु यसमा सफल पनि भए । र, बन्यो विश्वकै कथित उत्कृष्ट संविधान । संविधानको अब्बलतालाई अमृतलेप लगाउन सँख्याबलको बेजोड अहङ्कार पनि प्रदर्शित भयो । यस्तो खसआर्येली प्रयासका बीच हामी चुक्यौं । हाम्रो हैसियत एउटा विद्रोही बटुवाभन्दा बढी रहेन । 

त्यसपछिका दिनहरुमा मधेशका मागहरुको साखैआमा अर्थात् मधेशकेन्द्रित दलहरु संविधानसभा बहिष्कार, संविधानसभा अवरोध, सडकप्रर्दनबाट संविधान संशोधनको माग र अब संविधान पुनर्लेखनका लागि आन्दोलनको तयारीसम्म आइपुगेका छन् । यी सम्पूर्ण घटनाक्रमहरुका बीच संविधानसभा बहिष्कारको लङ्गुरे निर्णय गरेर पनि प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुने सद्भावना पार्टीको पेचकिला कस्ने सीप र निवृत्तिभरणका लागि पट्टा बनाउन सरकारी अड्डामा जानैपर्ने अन्य मधेशवादी दलहरुको बृद्धज्ञान भने मधेश आन्दोलनको इतिहासमा सधैँ परीक्षणयोग्य रहनेछ । तसर्थ अन्य प्रसङमा जानु श्रेयस्कर हुन्छ ।

मुद्दा प्रष्ट थिए र बाटो पनि असंदिग्ध । अर्थात् विद्रोहमै होमिनुपर्ने । तर दलहरुमा असमञ्जस थियो । यसै अलमलका बीच जनकपुरका युवकहरुले आन्दोलनको शंघघोष गरे । उनीहरु नत मधेश आन्दोलनका अतीतसँग गाँठो पर्ने गरी जोडिएका थिए नत मधेशजाप गर्न कुनै राजनीतिक दलको मन्दिरमा पुगेर सधैँभरि प्रार्थना गर्नैपर्ने कार्यकर्ता थिए । उनीहरु त छोइछिटो हुने संवैधानिक वेदलाई आलोचना गर्दै यसका बुँदाहरुबाट असहमत ‘चार्वाक’ थिए । जोहरुलाई आफ्नो इज्जत र मर्यादा जोगाउन धर्मयुद्ध गर्नुपर्ने चेत थियो । 

अनियोजित र तर अन्तरमनबाट उत्पन्न जनकपुरिया विद्रोहको फिलुङ्गो सलिक्दैँ गयो । र, मधेशकेन्द्रित दलहरु घोषित ढङ्गले नै सडकमा आए । मधेशी जनता पेट काटेर दलहरुका आव्हानलाई सघाए । दुःख, पीडा र सास्ती बोकेर आन्दोलनको अपूर्णतालाई मेट्ने प्रयत्न गरे उनै जनताले । सडकमा उत्रेका जनताको स्वार्थ सानो र साधारण थियो । उनीहरु मुक्तिकामी आन्दोलनका हिस्सा बन्न खोजेका थिए । संविधान जारी भएपछि गुमेको सम्मान र स्वाभिमानलाई फर्काउन चाहेका थिए । यस्तो जनआकांक्षाको मूलस्टेक भने युवा नै थिए ।

आन्दोलनमा सहिद हुने र घाइते हुनेहरुको फेहरिस्त हेर्दा आन्दोलनमा सहभागी उमेरसमूहलाई ठिक ढङ्गले यकिन गर्न सकिन्छ । र, यसले पनि आन्दोलनको मूलस्टेकका विषयमा मतभिन्नता प्रकट गर्न नसकिने हुन्छ ।
आन्दोलनमा संलग्न युवासँग राजनीतिक आग्रह थियो र राज्यसँग अनुनय पनि । उनीहरुको विनम्रतालाई राज्यले कुल्चिन थालेपछिको आक्रोश पनि । उनीहरु आवेगी थिए र उन्मादी थिए । इमानदार विद्रोहको यो उन्माद नै युवालाई भविष्योन्मुख हुन प्रेरित गरेको थियो । आन्दोलनको महत्वपूर्ण हिस्सा रहेका यी युवामध्ये कोही मधेशी दलका राजनीतिक पाठशालामा पनि प्रशिक्षित थिए भने कोही माथि भनिए झैं आत्मप्रेरणाबाट कुरुक्षेत्रमा पाइला टेकेका प्रगतिशीलहरु ।

दलहरुले आन्दोलन चर्काउन कार्यक्रम बनाए र अधुरै भए पनि रणनीति तय गरे । तर सडक र सीमामा कार्यान्वयन युवाले नै गरे । उनीहरुले यो प्रश्न गरेनन् कि यस्तो किन ?  दलसँग आबद्ध युवाले पनि पुरानो तेवर अपनाएनन् र नेतृत्वसँग सबालजवाफमा रुचि राखेनन् बरु कार्यस्थलमा आफ्नो भूमिकालाई स्थापित गर्ने प्रयत्न गरे । यसको पुख्ता सबुतको रुपमा आन्दोलन स्थगनको घोषणापछि पनि उनीहरु निशब्द हुनु पनि हो । आन्दोलनका कार्यक्रमका प्रभावहरुको स्वामित्वको बोझमुनि थिचिएका युवाले आन्दोलन फिर्ता हुनुको कारण सोध्न सकेनन् र सोध्न पनि चाहेनन् । यो निरपेक्षता हो दलका नेतृत्वप्रति ।
अब हामी यसको सापेक्षरुपको कुरा गरौं । सापेक्षिकरुपमा माथि उल्लेख भएका दुवैप्रकारका युवामा असन्तोष छ । आन्दोलनको रणनीतिक साझेदारबाट प्रेरित कार्यक्रमको अर्थ सोध्ने विषयमा चासो छैन तर निष्कर्षविहीन छमहिने आन्दोलनको पीडा छ । रणनीतिकरुपमा आन्दोलनकारी दलका नेतृत्वको फेरिँदै गएका बोली र व्यवहारहरुमाथि नजर छ । आफ्नो राजनीतिक उचाइँ बढाउने र अर्काको सिङ्गलाई चुँडालेर पडु बनाउने क्रियाकलापप्रति चर्को विमति छ । आन्दोलनकारी शक्ति विगतमा एक ठाउँमा नहुनु र आन्दोलन सुस्ताउँदै जाँदा केहीलाई विमात्रिक बनाएर एक्यबद्ध हुनुको विश्लेषण छ ।

युवाशक्तिको यस्तै निरपेक्षता र सापेक्षताबीच दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध मधेशी युवा खनिएका छन् । यो ओलीप्रतिको आक्रोश हो भन्नु तात्कालिक निक्र्योल मात्र हुनसक्छ । यो आन्दोलनलाई निर्देशित र नियन्त्रित बनाएर टुङ्गोविहीन बनाउने शक्तिविरुद्धको हुँकार पनि हो । दिल्लीमा मधेशी विद्यार्थीले गरेको प्रदर्शनपछि उनीहरु पक्राउ पर्दा नेपालका युवाविद्यार्थी सडकमा आउनु ती दुवै शक्तिका लागि चुनौति साबित हुनसक्छ जोहरु व्यवस्थापनमा विश्वास गर्छन् । व्यवस्थापनले रोग निको हुन्छ, स्वस्थ बन्न सकिँदैन । । त्यसैले रोग ठम्याउन र निको पार्नेतिर राज्य र आन्दोलनरत दलका अगुवाहरु लाग्नुपर्छ ।
अहिले रोगको आयतन र परीधि बढ्दैछ । रोगीहरुका बीच निरोगी हुने युवाप्रयास नै हो विद्रोह । यदि रोग बल्झाउने काम मात्र भयो भने युवाको पकड प्रदर्शनमा मात्र होइन, रणनीतिमा हुन जान्छ । र, युवाको यो रणनीतिक पहुँच परम्परावादी मधेशी नेताका लागि अरुचिकर हुनसक्छ । यसले उमेरसमूहका आधारमा ‘दृष्टिनिर्धारित’ हुने असहज परिस्थिति निम्त्याउन सक्छ । दिल्ली विद्रोहले कम्तीमा अब युवाशक्ति कार्यनीतिक र रणनीतिक दुवै साझेदारी चाहेको छ भन्ने प्रष्ट गरेको छ । आफ्नो योजना र आफू क्रियान्वित गर्ने मधेशी युवाको चाहनामा साझेदारीलाई आन्दोलनकारी दलका नेतृत्वले बेलैमा बुझ्नु उचित हुनेछ ।

Be the first to comment on "मधेश आन्दोलन र मेरो दृष्टिमा युवाशक्ति"

Leave a comment

Your email address will not be published.

*